बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षापछि आएको पहिरोले दुई घरमा क्षति पुर्याउँदा दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार २०८३ साउन २८ गते बेलुकीदेखि परेको लगातार वर्षाका कारण साउन २९ गते राति करिब १२ बजे ताम्सुमा पहिरो गएको हो। पहिरोले स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घरमा क्षति पुर्याएको बताइएको छ।
घटनामा सोही घरपरिवारका दुई जना सामान्य घाइते भएको र एक जना बेपत्ता रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
पहिरोपछि प्रहरी चौकी बडिमालिकाबाट प्रहरी सहायक निरीक्षक रामबहादुर चन्दको कमाण्डमा टोली खटिए पनि ताम्सु खोलामा पानीको बहाव बढेका कारण तत्काल घटनास्थल पुग्न सकेको थिएन। बिहान जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको कमाण्डमा १७ जनाको टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ खटाइएको प्रहरीले जनाएको छ।
घटनास्थल प्रहरी चौकी बडिमालिकाबाट करिब ४ किलोमिटर उत्तरमा पर्छ। उद्धार तथा क्षतिको थप विवरण आउन बाँकी छ।







