चुरे गाउँपालिका–२, कड्किरी निवासी श्री सालिभान साउद मुटुसम्बन्धी समस्याबाट पीडित रहेको दुःखद खबर प्राप्त भएपछि उहाँको स्वास्थ्य अवस्था बुझ्न प्रत्यक्ष भेटघाट गरी आर्थिक सहयोग जुटाउने अभियान सञ्चालन गरिएको थियो।

उक्त अभियानमा विभिन्न व्यक्ति तथा शुभेच्छुकहरूको सहयोगबाट कुल रु ३९,९०५ संकलन गर्न सफल भई पीडित साउदलाई सहयोग रकम हस्तान्तरण गरिएको छ।
सहयोग संकलन अभियानलाई सफल बनाउन विशेष भूमिका निर्वाह गर्नुहुने श्री मनोज साउद तथा श्री ललित दियाकोटीप्रति आयोजक पक्षले विशेष आभार व्यक्त गरेको छ। साथै, अभियानमा साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।
सहयोग हस्तान्तरण कार्यक्रम वडा सदस्य श्री नरबहादुर साउदको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वक्ताहरूले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै पीडितलाई सहयोग गर्ने सम्पूर्ण दाताहरूको योगदानको उच्च प्रशंसा गरेका थिए।
आयोजकले “मानवता नै सबैभन्दा ठूलो धर्म हो” भन्ने भावनाका साथ सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्।






