चुरे गाउँपालिका–२, देशना सलानी ।
चुरे गाउँपालिका वडा नं. २ अन्तर्गत देशना सलानी निवासी श्री लाल बहादुर सार्कीको घरमा मिति २०८३ साल जेठ २ गते अचानक आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्रीमा ठूलो क्षति पुगेको थियो। आगलागीबाट प्रभावित परिवारको आर्थिक तथा सामाजिक अवस्था नाजुक बनेपछि सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरिएको थियो।
उक्त सहयोग अभियानमा मनोज साउद, ललित दियाकोटी, यादव बोहरा, राम सार्की, बम सार्की, शेरबहादुर तथा भीमबहादुरलगायतको नेतृत्वमा विभिन्न सहयोगी मनहरूबाट जम्मा रु. ३२,६३५ (बत्तीस हजार छ सय पैंतीस रुपैयाँ) सङ्कलन गरिएको थियो।
सङ्कलित रकम आज मिति २०८३ साल जेठ २७ गते वडा सदस्य श्री नरबहादुर साउँदको अध्यक्षतामा आयोजित एक कार्यक्रममार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको छ।
कार्यक्रममा बोल्दै सहभागीहरूले विपद्को समयमा समुदायको एकता र सहयोगको भावना नै सबैभन्दा ठूलो शक्ति भएको बताएका थिए। साथै, आगलागीबाट पीडित परिवारलाई राहत पुर्याउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण दाताहरू र सहयोगी महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गरिएको छ।
स्थानीयवासीहरूले यस्ता मानवीय कार्यले समाजमा आपसी सद्भाव, सहकार्य र सहयोगको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।






